काठमाडौं ।
सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।
मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुले केही दिनदेखि सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
तर, प्रधानमन्त्री देउवा भने यो मितिमा चुनाव घोषणा गर्न तयार भइरहेका छैनन् । एक सय २० दिनअगाडि नै निर्वाचनको मिति तोक्न आयोगको सुझाव छ । त्यसैअनुसार उनले मंसिर १० गतेका लागि मिति तोक्ने तयारी गरेका बालुवाटारबाट सूचना बाहिरिएको छ ।
यसअघि देउवाका ज्योतिषले ३० कात्तिक, अनि २, ४, ८ र १० मंसिरमा चुनाव गर्न उपयुक्त दिन रहेको सुझाव दिएका थिए । मंसिर प्रधानमन्त्रीका लागि लक्की महिना पनि हो । ७ मंसिरमा औँसी परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, ’गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ।’
यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको थियो । सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।
आयोगले सरकारलाई गरेको सिफारिसमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदाफ १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बत २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिने।’
निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।