Latest News

भरतपुर अस्पतालको लापरबाही, डाक्टर र नर्स केक काट्न व्यस्त हुँदा शिशुको ज्यान गयो

Nepalese Times July 30, 2022 (2 Year ago)    480 Views

चितवन ।

भरतपुर अस्पतालमा चरम लापरवाही हुँदा एक शिशुको ज्यान गएको छ ।

अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण ३ महिने शिशुको मृत्यु  ज्याउन गएसँगै शिशुका आफन्तहरु आक्रोशित बनेका छन् । आफन्तले भनेका छन्, ‘अस्पतालका डाक्टर र नर्स विरामी शिशुको उपचारमा ध्यान नदिइ जन्मदिनको केक काट्न व्यस्त हुँदा बच्चाको मृत्यु भयो ।’

भरतपुर महानगरपालिका १५ सोल्टी चोकका ३ महिने शिशु युगेश लम्साललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उनको दिउँसो २ बजेर ४५ मिनेट जाँदा अस्पतालले ज्यान गएको घोषणा गर्यो ।

आमाको दुध चुस्न नमान्ने, एकोहोरो रुने गरेपछि बिहान ९ बजे बुबा रामु लम्साल र आमा सोना बयलकोटी लम्सालले उपचारका लागि शिशुलाई अस्पताल ल्याएका थिए । अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न पनि दुई घण्टा लामो लाइनमा बस्नुपरेको शिशुका बुवा रामु लम्सालले बताए ।

छोराको स्वास्थ्य जाँचमा हेलचेक्राई भएको भन्दै उनले भने,बच्चाको अवस्था एकदम नाजुक हुदै गइरहेको थियो,मैले आत्तिदै चिकित्सकलाई हारगुहार गरे तर आउनुभएन ।’

गम्भीर विरामी हुँदा पनि अस्पतालका चिकित्सक,नर्स र अन्य कर्मचारीले लापरवाही गरेको उनको भनाइ छ । ‘मेरो बच्चा छटपटाइरहेको थियो, तर आकस्मिक कक्षका चिकित्सक र नर्स जन्मदिनको केक काटेर रामाइरहेका थिए,उहाँले भन्नुभयो । ’

युगेस रामु र सोना दम्पतीका तेस्रो सन्तान हुन् । तीन सन्तानका बाबुआमाका साथमा पहिलो सन्तान मात्र छन् । दोस्रो सन्तान पनि आमाको दुध नचुस्ने समस्या भएकै कारण ज्यान गएको थियो ।

‘दोस्रो सन्तान त हामी आफैले समयमै उपचार गर्न नसकेका कारण ज्यान गयो । तर तेस्रो सन्तानलाई अस्पतालले लापरवाही गरेका कारण ज्यान गयो, उहाँले गुनासो गर्नुभयो ।’

भरतपुर अस्पतालका मेसु प्रा.डा.कृष्ण प्रसाद पौडेलले भने दुध सर्किएका कारण बच्चाको ज्यान गएको बिहिबार नै बताएका थिए । शिशुको परिवार भन्छ, दुध नै चुस्न नमानेको बच्चा कसरी सर्किएर ज्यान जान्छ ? अस्पताल आफ्नो गम्भिर लापरवाहीबाट उम्कन खोजेको परिवारको आरोप छ ।

उनिहरुले न्याय र क्षतिपूर्तिको माग गरिरहेका छन् । शिशुको शव अस्पतालमै छ । बच्चाको पोष्टमाटम नेपाल मेडिकल काउन्सिल र नीजि अस्पतालका चिकित्सकहरुको सहभागितामा हुनुपर्ने परिवारको माग छ । उनिहरुलाई माग सम्बोधन नभएसम्म शव नउठाउने बताएका छन् ।

अस्पतालको रिपोर्ट हेर्दा शिशुमा हेमोग्लोबिनको कमी देखिएको छ । अस्पतालको निमित्त मेसु डा.गोबिन्द कँडेलले भने, मेडिकल काउन्सिलको टिम आएपछि मात्र वास्तविक कुरा थाहा हुनेछ । उनले शिशुको ज्यान जानुमा चिकित्सक दोषि दखिए कानुन बमोजिम कारवाही हुने बताए । यसबारे छानविनका लागि अस्पतालले डा.प्रमोद पौडेलको अक्ष्यक्षतामा समिति बनाएको छ ।

भरतपुर अस्पतालमा पटकपटक चरम लापरवाही हुने गरेको जनगुनासो आउने गरेको छ । कहिले चिकित्सक त कहिले नर्स र अन्य कर्मचारीका कारण विरामीले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस