काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा छापा मारेको छ । प्रहरीका अनुसार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार कल सेन्टरबाट ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । यसअघि प्रहरीले रुपन्देहीको कल सेन्टर र तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा परेको थियो ।
प्रहरीले तिनकुनेस्थित कल सेन्टरबाट १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।
‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
यस्तै केही दिनअघि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको तीनकुनेमा सञ्चालन गरिएको कल सेन्टरमा छापा मारेको थियो ।
छापा मारेर प्रहरीले विभिन्न उपकरणहरु बरामद गरेको छ। उनीहरुले कल सेन्टर सञ्चालन गरेर अवेध धन्दा गरेको प्रहरीले दाबी गरेको छ। आइतबार मात्रै रुपन्देहीमा पनि प्रहरीले अवैध कल सेन्टरमा छापा मारेको थियो। सो क्रममा करिब २०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ।
त्यहाँ १ सय जना भन्दाबढी कर्मचारीहरु काम गरेको पाइएको छ। विभिन्न तरिकाबाट मानिसलाई ठगी गर्न कल सेन्टर संचालन गरेको पाइएपछि काठमाडौं प्रहरीले छापा मारेको हो।
सोमवार रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
कार्यालयमा भारतीय नागरिकको समेत लगानी रहेको खुलेको छ। उक्त कार्यालयबाट मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, असार ५ गते सूचना प्रविधिको दुरुपयोग गरेर मानिसहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको थियो। दुई भारतीय नागरिक सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। भारतको नयाँ दिल्लीबाट गिरोह सक्रिय भएको र नेपालमा कल सेन्टर बनाएर अमेरिकन र क्यानेडियन नागरिकलाई प्रविधिको माध्यमबाट ठगी गर्ने गरेको देखिएको थियो।
यसअघि पनि काठमाडौंमा चिनियाँ नागरिकले घर भाडामा लिएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा छापा मारेर ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरिएको थियो।