Latest News

रिकभर भएको फुटेज विज्ञले पनि हेरे, के पत्ता लगाए ?

Nepalese Times July 26, 2022 (2 Year ago)    351 Views

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले फरेन्सिक विज्ञसँग पनि छलफल गरेको छ।

अर्थ मन्त्रालयको जेठ १४ गतेको सिसिटिभी फुटेज प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर भएको थियो। उक्त फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो।

मंगलबार अपरान्ह समितिले दुई जना फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो।
समिति सदस्यहरूले भिडिओको गुणस्तर किन कमजोर भएको हो? मिति पनि प्रष्ट नहुनुको कारण के हो? भनेर सोधेका थिए।

विज्ञहरूले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएको समिति स्रोतले जानकारी दियो।

विज्ञहरूले यस्तो जवाफ दिएपछि अब के गर्ने भन्नेबार समितिको बैठक बसिरहेको छ। यसअघि प्रयोगशालाले बुझाएको सिसिटिभी फुटेजको विवरण मंगलबार बिहान खोलिएको थियो।

बजेट सार्वजनिक हुनु अघिल्लो दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्।

उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस