Latest News

कांग्रेस नेतृ सुजाता कोइरालाले गरिन् उम्मेदवारी घोषणा, कहाँबाट चुनाव लड्ने भइन् ?

Nepalese Times July 21, 2022 (2 Year ago)    369 Views

काठमाडौं ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणासमेत गरेकी छिन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरेकी हुन् । यतै उनले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् ।

उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

कारण दुई पटक विघटन गरिएको संसद् गठबन्धनका पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले स्वार्थी बन्न नहुँने भन्दै उनले पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ । काँग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ । बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिए ।

कांग्रेसले अनुशासन समिति, लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस