Latest News

कांग्रेसको सिङ् भाँच्ने चेतावनी दिएका झलनाथ खनाललाई एमालेले फेरि गर्यो ‘बिग अफर’ !

Nepalese Times July 21, 2022 (2 Year ago)    486 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाली कांग्रेससँग रुष्ट छन् ।

उनले अब फेरि एकपटक वाम एकता गरेर अघि बढ्नुपर्ने भन्दै कम्मर कसेर लागिपरेका छन् । उनले पार्टीको बैठकबाट विचार मिल्ने घटकसँग पार्टी एकीकरण गर्ने निर्णयसमेत गराएका छन् ।

केही दिनअघि मात्रै उनले भनेको एउटा अभिव्यक्ति भाइरल बनेको थियो । उनले भनेका थिए, ‘कांग्रेसले दम्भ गर्‍यो भने सिङ भाँच्चिन्छन् । भागबन्डा मिलेन भने गठबन्धन रहँदैन । जसरी पनि गठबन्धन गर्नुपर्छ भन्ने केही छैन ।”

यस्तै उनले नेपाली कांग्रेसले सय सिट माग्दैमा नपाउने पनि दाबी गरे । खनालले थपे, “हरेक पार्टीले त्यस्ता निर्णय गर्न सक्छन् । कांग्रेसको कुरा कसले स्वीकार गर्छ र ? गठबन्धन गर्ने हो भने सम्मानजनक ढंगले सिट तालमेल हुनुपर्छ । कसैले माग्दैमा दिने भन्ने कुरा हुँदैन ।

समाजवादका पक्षधर शक्ति एक भएर अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको भन्दै उनले बरु नेकपा एमालेसँग मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि राजनीतिक संवाद जरुरी भएको र आफूहरु मिलेर अघि बढ्न तयार रहेको खनालले बताए । उनले थपे, “उहाँसँग मेरो अस्ति एकछिन जम्काभेट भएको थियो । कुशल मंगलबारे अलिकति कुरा गर्यौं । राजनीतिक संवाद भएन । अब कसैले पनि ढोका बन्द गरेर बस्नु जरुरी छैन । यो वादे वादे जयते तत्त्वबोध भनेजस्तै हो ।”

चीनले वामपन्थी एकता गर्न तपाईंलाई दबाब दिएको भनिन्छ नि भन्ने प्रश्नमा खनालले भने, “चीनले मात्र किन भन्नुहुन्छ ? विश्वभरिका प्रगतिशील शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध होस् भन्ने चाहन्छन् । त्यसमा झलनाथ खनालले कुनै भूमिका खेल्न सक्छ भने किन नखेल्ने ? वामपन्थी एकता आजको आवश्यकता हो ।’

उनले यस्तै खालका अभिव्यक्ति सार्वजनिक गर्न थालेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झलनाथ खनालसँग नरम हुन थालेका छन् । उनले खनाललाई नेकपा एमालेमै फर्कन आग्रहसमेत गरेका छन् ।

संसदीय चुनावपछि राष्ट्रपति बनाउने ओलीले खनाललाई आश्वासन दिएका छन् भने त्यसबारे खनालले केही जवाफ नफर्काएका स्रोतले जनाएको छ । यता सत्ता गठबन्धनमा पनि खनाललाई राष्ट्रपति बनाउने विषय उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस