Latest News

बाबुरामको नयाँ पार्टीमा प्रचण्डसहित माधव र वामदेव पनि जोडिने, थाले यस्तो तयारी

Nepalese Times July 19, 2022 (2 Year ago)    420 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु गरेका छन ।

माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल शुरु भएको हो । सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरुले बताएका छन् ।

यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्ने बताएका थिए ।

भट्टराईकाे कुरामा प्रचण्ड पनि सकारात्मक रहेको बताइएको थियो। यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो। त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।

नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र गठनको तयारीमा जुटेका हुन्। पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) बिभाजित भएसँगै बाबुराम भट्टराईको पहलमा समाजवादी केन्द्र गठन गर्ने पहल थालिएको हो।

जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई पक्षधरको काठमाडौमा असार २८ गतेदेखि छुट्टै बैठक बसेसँगै उनी पक्षीय नेताहरुलाई उपेन्द्र यादवले कारबाही गरेका छन्। आफूहरुलाई यादव पक्षको कारबाहीपछिसंघीय परिषद अध्यक्ष भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण तहका नेता कार्यकर्तालाई पार्टी पुनर्गठनको लागि आह्वान गरेका थिए।

उपेन्द्र यादव पक्षधरको असार २९–३० गते वीरगञ्जमा बसेको बैठकले बाबुरामलगायत केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगा नारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, हिसीला यमी, महेन्द्र राय यादव, रमेश यादव, दुर्गा सोब, दानबहादुर चौधरीलाई कारबाही गरि पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो।

नयाँ पार्टी पुनर्गठन गर्ने तयारीमा लागेका भट्टराई अहिले आफ्नो पार्टी पुर्नगठन गर्ने भन्दा पनि माओवादी केन्द्र , एकीकृत समाजवादी र आफ्नो समूहसहितको नयाँ समाजवादी केन्द्र नामक पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेका छन्। उपेन्द्रले कारबाही गरेसँगै नयाँ पार्टीखोल्ने तयारीमा रहेका भट्टराई माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आन्तरिक तयारीमा जुटेका हुन्।

जसपाका एक केन्द्रीय सदस्यका अनुसार पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने सम्मको तयारी छ। पछिल्लो समय निरन्तर छलफल र पार्टी बिभाजन पछि नयाँ दल गठन गर्ने तयारीमा रहेका भट्टराई पक्षको गत मंगलबार देखि बसेको बैठकले उपस्थित केन्द्रीय सदस्यको संख्याको आधारमा नयाँ पार्टी गठन गर्ने या ४० प्रतिशत पुर्याएर जसपा बिभाजन गर्ने तयारीमा रहेका थिए।

तर पछिल्लो सहभागी केन्द्रीय सदस्यको अंकगणितको आधारमा ४० प्रतिशत नपुग्ने देखिएको छ। जसपा निकट सा्रेतले दिएको जानकारी अनुसार हालसम्म बाबुराम भट्टराईको पक्षमा ४९९ केन्द्रीय सदस्यमध्ये १३० जना देखिएका छन्। वीरगञ्जमा सम्पन्न उपेन्द्र पक्षको भेलामा १७० जनाको उपस्थिति रहेको बताइएको छ। आजपर्यन्त १९९ जना केन्द्रीय सदस्यहरु तटस्थ रहेका छन्।

बाबुरामसँग ६ जना सांसद रहेको दाबी गरिएको छ। जस अनुसार बाबुराम भट्टराई स्वयम् महेन्द्र यादव, अमृता अग्रहरी, राजकिशोर यादव र रेणु यादव उनको पक्षमा खुलेर देखिएका छन् भने अन्य केही खुलेका छैनन्। बाबुराम पक्षको बैठकमा ४० प्रतिशत नपुगेसँगै नयाँ पार्टी गठन गरेर जाने र पार्टीको नामको बिषयमा समेत बिभिन्न नाम प्रस्ताव आएको स्रोतले बताएको छ। नयाँ पार्टी पुनर्गठन गर्नुभन्दा केही समय अगाडिदेखि चर्चामा रहेको समाजवादी केन्द्र निर्माणमा पहल गर्न बाबुरामले थालेका छन्।

संघीय र प्रादेशिक निर्वाचन नजिकिएसँगै माओवादी केन्द्र , एकीकृत समाजवादी र बाबुरामसहितको नयाँ पार्टी समाजवादी केन्द्र गठन गरि निर्वाचनमा होमिने दलहरुको तयारी रहेको छ। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामको यस बिषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस