Latest News

विद्यार्थीलाई हातखुट्टा टेकाएर पिट्ने यी शिक्षक को हुन् ? विद्यालय संचालकले खोले मुख (भिडिओसहित)

Nepalese Times July 18, 2022 (2 Year ago)    434 Views

काठमाडौं ।

दुई दिनदेखि सामाजिक सञ्जालमा केही विद्यार्थीलाई हातखुट्टा टेकाएर भुइँमा राखिएको र एक जनाले पिठ्युँमा छडीजस्तो देखिने वस्तुले पिटेको भिडियो भाइरल भएको छ ।

उक्त भिडियो भाइरल भएपछि ललितपुर महानगरपालिकाको कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीले विद्यार्थीलाई शारीरिक रुपमा सजाय दिएको भन्दै कारबाहीको माग गरिएको छ ।

मर्हजनसँग सरोकारवालाले कारबाहीको मागसमेत गरेका छन् । भिडियो भाइरल भएपछि महानगरको शिक्षा शाखाले एकेडेमी सञ्चालकसँग सोमबार सोधपुछ गरिसकेको छ ।

सोधपुछको क्रममा एकेडेमीले १० वर्षअघिको भिडियो अहिले भाइरल गरिएको प्रतिक्रिया दिएको हो ।

‘१० वर्षअघि फुटबल खेल्दा विद्यार्थीबीच झगडा भएको रहेछ, टिम लिडरले खेलाडी विद्यार्थीलाई सम्झाउने क्रममा हातखुट्टा टेकाएर राखेका रहेछन्,’ महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले भने, ‘थप जाँचबुझ गर्दैछौं ।’

भिडियो देखेपछि महानगरको शिक्षा शाखाकी कर्मचारी सरिताकुमारी पौडेलले एकेडेमी प्रशासनसँग सोधपुछ गरेकी थिइन् । युनाइटेडका कक्षाहरू कुमारीपाटी, ग्वार्को, सातदोबाटोमा सञ्चालित छन् ।

उक्त भिडियोचाहीँ कक्षा ११र१२ को कक्षा सञ्चालन हुने कुमारीपाटीको हो । पौडेलले २०६७र०६८ को भिडियो अहिले सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएको बताइन् ।

एकेडेमीका संयोजक बसन्त नेपालीले १० वर्षअघि फुटबल खेल्दाको विवाद मिलाउन विद्यार्थीलाई सम्झाइबुझाई गर्दाको भिडियो अहिले भाइरल गरिएको प्रतिक्रिया दिए ।

‘हाम्रो रेकर्डमा हेर्दा १० वर्षअघिको घटना रहेको पत्ता लाग्यो, ती विद्यार्थी र शिक्षक अहिले एकेडेमीमा पनि छैनन् । विद्यार्थीले पढाइ पूरा गरेर गइसके,’ उनले भने, ‘शिक्षकले पनि पहिल्यै जागिर छाडिसक्नु भयो ।’

भर्नाका बेला प्रतिस्पर्धी अन्य स्कुलले भिडियो भाइरल गराएको आरोप एकेडेमीले लगाएको छ । ‘कसले भिडियो राख्यो हामी पनि सोधीखोजी गर्दै छौं,’ उनले भने, ‘अहिले कुटपिट हुँदैन । विद्यार्थीसँग राम्रो शब्द बोल्न निर्देशन दिएका छौं । विद्यार्थीसँग कम्तीमा तिमी भनेर बोल्नुपर्छ ।’

युनाइटेडका केही अभिभावकले भने पछिल्लो समय पनि विद्यार्थीमाथि शारीरिक सजायका घटना हुने गरेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस