Latest News

भारतमा आरजुसँगको भेटबारे प्रचण्डले बल्ल मुख खोले, दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 17, 2022 (2 Year ago)    439 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीपत्नी आरजु देउवासँगको भेटलाई अतिरञ्जित गरिएको प्रतिक्रिया दिएका छन् ।

भारत भ्रमण सकेर स्वदेश फर्केका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै आरजुसँगको भेटलाई अतिरञ्जित गरिएको बताएका हुन् ।

स्वास्थ्य उपचारका लागि भारतमा रहेका आरजुलाई राजदूतसँगको सल्लाहमा नै भेट गरिएको भन्दै प्रचण्डले भेटलाई अतिरञ्जित गरिएको बताएका हुन् ।

प्रचण्डले भने– ‘राजदूतज्यूसँग यहाँबाट सँगै गएका हौं । भारतमै रहनु भएका नेतृ देउवासँग भेटौंन भनेर भेट भएको हो । उहाँसँग स्वास्थ्य अवस्थाबारे कुराकानी भएको थियो । तर, यहाँ अतिरञ्जित गरियो । त्यस्तो केही भएको थिएन ।’

प्रचण्ड र आरजुको भेटलाई प्रमुख प्रतिपक्ष दलले सत्ताको खेलसँग जोडेर आलोचना गरेको थियो । प्रचण्डले सोही आलोचनाको खण्डन गरेका हुन् ।

यस्तै उनले आफ्नो भारत भ्रमणका क्रममा हुने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अचानक रोकिएको बताएका छन्।

तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किएका प्रचण्डले आइतबार बिहान पौने १ बजेसम्म पनि आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको बताए।

‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन। भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि,’ प्रचण्डले भने, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो। कारण मलाई पनि थाहा छैन।’

मोदीसँग भेट नभए पनि आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको प्रचण्डले बताए।आफूलाई विमानस्थलदेखि भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयसम्म गरिएको स्वागत भव्य रहेको उनले बताए।

आफूले भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश मन्त्री एस जयशंकर र भाजपा अध्यक्ष जेपी नड्डासँग भेटेको उनले जानकारी दिए।

‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने,‘म निकै आशावादी भएर फर्किएको छु।’

प्रतिक्रिया दिनुहोस