काठमाडौं । रौतहटको पिपरा गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको बागमती नदीमा संकटापन्न अवस्थामा रहेको जलचर प्राणी डल्फिन फेला परेको छ ।
माछा मार्न जाने व्यक्तिहरुले माछाका लागि हानेको जालमा डल्फिन परेपछि सबैतिर खबर गरेका थिए । फरक जानको माछा जालमा परेको भनेर खबर प्राप्त हुने वित्तिकै आफूले टोली खटाएको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले नेप्लिज टाईम्सलाई बताए ।
उनले भने, ‘मलाई हिजो नै जानकारीमा आएको थियो । आज भने टोली नै खटाएर त्यसबारे जानकारी दिन लगाएँ । माछाको जालमा परेको डल्फिन बजारमा लैजाने क्रममा मरिसकेको अवस्थामा भेटियो ।’
बागमतीका धेर ठाउँमा यो प्रजाति भेटिएपछि अहिले आफूहरुले माछा मार्न रोक लगाईएको गाउँपालिका अध्यक्ष सिंहले नेप्लिज टाइम्ससँगको कुराकानीमा बताए ।
उनले भने, ‘यो हाम्रो सम्पत्ती हो । यसलाई संरक्षण गर्नुपर्ने हामी सबैको दायित्व हो । त्यसैले हामीले बागमती वरिपरि माछा मार्न बन्देज लगाएका छौँ ।’
जालमा पर्नेवित्तिकै बजारमा लैजाने क्रममा हेर्नेहरुको भीड लागेको थियो । बासस्थान विनाश र मानवीय अतिक्रमणसँगै विचरणमा भएको अवरोधले नेपालमा यसको संख्या घटेको विज्ञहरूको भनाइ छ ।
वन विज्ञान अध्ययन संस्थान पोखराका अध्ययनकर्ता गोपाल खनालले नदीमा पानीको सतह घट्नु, माछा मार्नु तथा बढ्दो मानवीय चापले डल्फिन घटेको हो । नेपालमा धेरै डल्फिन पाइने नदी कर्णाली हो ।
‘बासस्थानको विनाश, बाँध निर्माण र नदीको जलाधार क्षेत्रमा बढेको वन फडानीले नकारात्मक प्रभाव पार्दै गएको हो,’ अध्ययनकर्ता खनालले भने, ‘यस्तै अवस्था रहे केही वर्षमा डल्फिन लोप भएर जानेछ ।’
उनले डल्फिनको वास्तविक संख्या, वितरणको अवस्था र यसको वितरणमा पारिस्थितिकीय तत्वहरूले पार्ने प्रभावबारे वैज्ञानिक अध्ययन आवश्यक भएको बताए । अध्ययन क्रममा उनले कर्णालीको पूर्वी भँगालो गेरुवा नदीमा डल्फिन नै नदेखिएको बताए ।
नेपालका कर्णाली, कोसी र नारायणी नदीमा अहिले डल्फिन पाइँदै आएको छ । ठूला बाँध निर्माणपछि पानीको मात्रा कम भए पनि महाकालीबाट यसअघि नै डल्फिन लोप भइसकेको छ ।
विश्वकै दुर्लभ जलचर डल्फिनलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीयन) ले संकटापन्न सूचीमा राखेको छ । अध्ययनकर्ताका अनुसार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुमा सूचीकृत गरे पनि वैज्ञानिक अध्ययन राम्रोसँग हुन सकेको छैन । कर्णाली नदीमा सन् १९८२ मा पहिलोपटक गरिएको अध्ययनमा डल्फिन २० वटाको हाराहारीमा भेटिएका थिए ।