Latest News

बुढिगंगामा २७ सय मत गनेर सकियो, मेयर र उपमेयरमा कसले कति मत ल्याए ? (मतपरिणामसहित)

Nepalese Times July 9, 2022 (2 Year ago)    664 Views

काठमाडौं ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना गरेर सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि देखिएका छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मत ल्याएका छन् । उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गरेका छन् । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

वडा नम्बर १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ भने कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित भएका छन् ।

थापाले ३ सय ५३ मत र कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् । त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित भए । विजयी साउदले ५ सय ४८ मत प्राप्त गर्नुभयो भने पराजित बुढाले ४ सय ९१ मत ल्याएका छन् ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस