Latest News

सकियो मन्त्रिपरिषद बैठक, यस्ता छन् महत्वपूर्ण निर्णयहरु

Nepalese Times July 8, 2022 (2 Year ago)    534 Views

काठमाडौं ।

सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय भएको मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

मन्त्री रेग्मीका अनुसार नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने छ ।

सो विधेयकमा के के कुरा संसोधन भएको बारे भने मन्त्री रेग्मीले खुलाइनन् । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो । केपी ओली सरकारले नागरिकता विधेयकमा नेपालका पुरूषसँग बिहे गरी आउने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्था थियो। तर यो व्यवस्थामा नेपाली कांग्रेस र मधेश केन्द्रित दलले असहमति जनाएका थिए।

त्यस्तै, सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।

‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’

यस्तै ओलीले पनि आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दु:खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’

प्रतिक्रिया दिनुहोस