काठमाडौं ।
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएको भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।
आज शुक्रवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।
केही दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका थिए ।
थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन्।
‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो। मैले शुभकामना पनि दिए। बधाई पनि दिए। तर प्रणाली छैन, त्यहाँ। उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन। प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन’, उनले भने।