Latest News

बाजुराको बूढीगङ्गामा मतगणना जारी, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 8, 2022 (2 Year ago)    1013 Views

काठमाडौं ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको पालिका चुनावको मतगणना अहिले जारी रहेको छ ।

बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिएका छन् ।

बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो ।

बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समर्थन रहेको छ ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस