Latest News

जनार्दन शर्माले राजीनामा दिएसँगै अबको अर्थमन्त्री को ? वर्षमान पुनले गरे यस्तो खुलासा

Nepalese Times July 6, 2022 (2 Year ago)    586 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने खुलासा गरेका छन् ।

बुधबार संसद्‍ बैठकपछि बाहिर निस्किएर नेता पुनले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने पनि पुनको भनाइ थियो ।

जनार्दश शर्माले अर्थ मन्त्रालयबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका बेला नेता पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको पुनको भनाइ थियो । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उनले बताए ।

यस्तै प्रमुख प्रतिपक्षी दलका नेताहरूले पुष्टि भए झैँ गरी शर्मालाई कारबाही गर्नुपर्ने भन्दै माग गरेकोमा पुनले आपत्ति जनाएका थिए । साथै प्रतिपक्षी दलका सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई लक्षित गर्दै त्यसमा पूर्वाग्रह भएको उनले बताए ।

अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मामाथि राज्यविरुद्धको अपराधसहित तीन वटा कसुरमा प्रहरीमा जाहेरी दर्ताका लागि उजुरी पुगेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शर्मासहित ८ जनाविरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुगेको हो । राप्रपा प्रवक्ता तथा सुशासन विभाग प्रमुख टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेर जाहेरी दिन  खोजेपनि उजुरी दर्ता हुन भने सकेन ।

माथिको आदेश भन्दै उजुरी दर्ता गर्न नमानिएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । राप्रपाले दिन लागेको जाहेरीमा मुलुकी अपराध संहिता २०७४, विद्युतीय कारोबार ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई आधार बनाइएको छ ।

जाहेरीमा अर्थमन्त्री शर्मासहित अवकाश प्राप्त अर्घाखाँची जिल्ला भूमिस्थान नगरपालिका घरभइ काठमाडौं बस्ने रघुनाथ घिमिरेलाई प्रतिवादी बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस