Latest News

प्रचण्डले पाए महत्वपूर्ण जिम्मेवारी, क-कसलाई ल्याउलान् पदाधिकारीमा ?

Nepalese Times July 5, 2022 (2 Year ago)    432 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्ने भएको छ। मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा पदाधिकारी चयन गर्ने निर्णय गरिएको हो।

गत पुसमा आठौँ राष्ट्रिय महाधिवेशन गरेको माओवादीको अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन।

१९ असारदेखि जारी तेस्रो केन्द्रीय समिति बैठकमा पदाधिकारी, स्थायी र पोलिटब्युराे चयन गर्नुपर्ने माग उठेपछि अध्यक्ष प्रचण्डले बैठक रोकेर कार्यालयको विस्तारित बैठक राखेका थिए।

‘आजको कार्यालयको विस्तारित बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युराे समिति गठन गरेर जाने निर्णय गरेको छ,’ एक नेताले भने, ‘पदाधिकारीदेखि सबै निकायको नाम अध्यक्षले प्रस्ताव गर्नुहुनेछ।’

त्यस्तै, प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए ।

पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए ।

केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल लम्बिएपछि केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।

त्यही बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी र पाेलिटब्युराे प्रस्ताव गर्नेछन्। माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस