काठमाडौं ।
बिहे मानिसको जीवनको त्यो क्षण हो जसलाई सबैजसो मानिसले अनुभव गर्न चाहन्छन् र त्यसरी बिहे गरेर जीवनसाथी बनेको व्यक्तिसँग जीवनभर सँगै बाँच्ने बाचा गर्दछन् ।
बिहे गरिसकेपछि चाहे महिला होस् वा पुरुष जो कोहीलाई पनि आफ्नो सम्बन्ध जीवनभर चलोस् भन्ने चाहना हुन्छ । तर सबैको हकमा त्यो सम्भव हुँदैन । कहिलेकाहीँ विभिन्न कारणले पतिपत्नीबीच सम्बन्ध विच्छेद हुन्छ र बाटो अलग अलग बन्दछ ।
कुनै व्यक्तिको जीवनमा एक दुई पटक वैवाहिक सम्बन्ध टुंगिनु त सामान्य नै होला । तर यस्तो डिभोर्स जब एउटा व्यक्तिको जीवनमा १२औं पटकसम्म हुन्छ तब, अवस्था के होला ?
अमेरिकामा बस्ने एक महिलाको जीवनमा यस्तो अकल्पनीय घटना भएको छ । ती महिलाले ११ पटक बिहे गरिसकेकी थिइन् र उनको सबैसँग डिभोर्स भैसकेको थियो । उनले पछिल्ला दिनमा १२औं बिहे गर्ने कोसिस पनि गरिन् तर बाह्रौं बिहेचाहिं इन्गेजमेन्टमै पुगेर टुंगियो ।
डेलीस्टारको रिपोर्ट अनुसार ५२ वर्षकी मोनेट डियासको जीवनमा यस्तो घटना भएको हो । पेशाले इन्टेरियर डिजाइनर रहेकी मोनेटले ११ वटा बिहे र एउटा इन्गेजमेन्ट गरेर पनि अहिले एक्ली छिन् । उनी एकल आमा हुन् ।
मोनेटकी बहिनी मार्सीका अनुसार जब उनकी दिदी मोनेटले दुई/तीन वटा बिहे गरिन् त्यतिबेलासम्म त उनीहरूलाई सामान्य नै लागेको थियो र उनको भविष्यबारे कुनै पनि चिन्ता थिएन । तर मोनेटको डिभोर्सको शृङ्खला रोकिएन ।
बिहे गर्ने र डिभोर्स गर्ने क्रम चलिरहँदा उनको ११औं बिहे पनि टुट्यो । अब चाहिं उनको (मोनेट) जीवनमा कुनै पनि पुरुष लेखेको रहेनछ भन्ने बहिनी मार्सीलाई लागेको छ ।
रिपोर्ट अनुसार ११ औं पतिबाट अलग भएसँगै नयाँ पार्टनरको खोजीमा मोनेट टिएलसी टेलिभिजनको रियालिटी शो ‘Addicted to Marriage’ मा गएकी थिइन् ।
टेलिभिजन सिरिजमै उनको भेट जोनसँग भयो । केही समयपछि दुई जनाबीच इन्गेजमेन्ट भयो । दुवैको सम्बन्ध ठीकै चलिरहेको थियो तर अचानक उनीहरूको ब्रेकअप भयो ।
जोनसँगको ब्रेकअप आफ्ना लागि निकै कठिन रहेको मोनेट बताउँछिन् । आफूले जोनलाई निकै माया गर्ने गरेको र सम्बन्ध जोगाउनका लागि धेरै प्रयास गरेको भए पनि सफल नभएको उनी बताउँछिन् ।
१२औं पटकसम्म ब्रेकअप भए पनि मोनेटको आशा अझै मरेको छैन । एकदिन सच्चा साथी अवश्य भेटिने उनको अभिलाषा छ । एजेन्सी