काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन सोमबार ४३ जनाले धारणा राखेका छन्।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा ४३ जनाले सकारात्मक, सिर्जनात्मक र यथार्थपरक रूपमा आफ्नो विचार, धारणा र सुझाव पेश गरेको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
बैठक मंगलबार ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ। आजको बैठकमा नेताहरुले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमालेसंग मिलेर अघि बढ्न सुझाव दिएका छन्।
नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग वामपन्थी गठबन्धनका लागि छलफल र बहस चलाउन सुझाव दिएका हुन्।
‘एमालेसँग पानी बाराबार गर्नु जरुरी छैन। अगामी दिनमा पनि छलफल र बहस गरेर जानुपर्छ,’ बैठकमा नेताहरुले उठाएको कुराबारे जानकारी दिँदै केन्द्रीय सदस्य रामकुमार शर्माले भने, ‘वामपन्थी एकता र गठबन्धन हुँदा पब्लिकलाई मतदान गर्न जुन सजिलो हुन्छ त्यो कांग्रेससँग गर्दा हुँदैन।’
स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग विश्वास घात गरेको नेताहरुको भनाइ छ। ‘स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई इमान्दारितापूर्वक मत हाले। तर, उसले हामीलाई कतिपय ठाउँमा मत नहालेको अवस्था देखियो,’ नेता शर्माले भने, ‘हामी जित्ने ठाउँमा कांग्रेसले अर्को उम्मेदवार उठायो।’
आगामी निर्वाचनमा स्पष्ट भएरमात्रै गठबन्ध बनाएर चुनावमा जानुपर्ने नेताहरु जोड दिएका छन्। ‘अगामी चुनावमा फेरि पनि गठबन्धनमा जाने हो भने कांग्रेसलाई ५० प्रतिशत सिट दिनुपर्छ। बाँकी ५० प्रतिशत सिट गठबन्धन दलका अन्य पार्टीहरुलाई दिनुपर्छ,’ नेता शर्माले भने, ‘यो भयो भने माओवादी गठबन्धनमा गयो भने ठीकै हुन्छ। योभन्दा तल माथि भयो भने गठबन्धनबाट आगामी संघीय र प्रादेशिक चुनाव जानु ठीक छैन भन्ने जोडदार आवाज उठेको छ। यो भयो भने माओवादी पार्टी निर्णयक प्रकारले अगाडि आउँछ।’
कांग्रेसमा मात्रै भर नपरेर उता एमालेसँग पनि पार्टी बहस र छलफल चलाउनुपर्ने बताउँदै उनले थपे, ‘एमालेसँग पार्टी एकताको कुरा तत्काल नभए पनि गठबन्ध गरेर चुनावमा जाँदा जातै जाने कुरा होइन्।’
त्यस्तै बैठकमा नागरिकता विधेयक तुरुन्त पास गर्नुपर्ने आवाज उठेको छ। माओवादी सरकारमा हुँदाहुँदै नागरिकता विधेयक किन पास नभएको भन्दै सहभागी नेताहरुले नेतृत्वसँग प्रश्न गरेका छन्।
‘माओवादी पनि सरकारमा छ, जसपा पनि सँगै छ। कांग्रेसले कहीँ न कहीँ गठबन्धनलाई सत्ता चढ्ने भर्याङ त बनाएन भन्ने शंका गरिएको छ,’ नेता शर्माले भने।