काठमाडौं । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्ने भएका छन् ।
बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो ।
माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको आकस्मिक बैठक डाकिएको छ । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक डाकेको हो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो ।संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईको भनाइ छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेको बताइएको छ । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।यस्तै निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।
उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।