Latest News

सरकारको नेतृत्व छाड्नेबारे निर्णय लिन एकीकृत समाजवादीले डाक्यो आकस्मिक बैठक

Nepalese Times July 1, 2022 (2 Year ago)    399 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको आकस्मिक बैठक डाकिएको छ ।

बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक डाकेको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो ।

संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईको भनाइ छ ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेको बताइएको छ ।

उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

यस्तै निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।

उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस