Latest News

बाबुराम-उपेन्द्र छुट्टिए, अशोक राई कसको पक्षमा ?

Nepalese Times June 30, 2022 (2 Year ago)    491 Views

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।

‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’ जसपाबाट बाबुराम निस्किएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्ने भएका छन् । त्यसपछि मात्रै कुन पार्टीमा जाने भन्ने विषयमा निर्णय गर्ने छन् ।

लामो समयदेखि पार्टीभित्र भएको विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुट्ने भएको हो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीको विषयमा पनि उक्त पार्टीभित्र विवाद उत्पन्न भएको थियो।

भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका भट्टराई निकट एक नेताले बतए । उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले बताए ।

सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा. बाबुराम भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएपछि उनले बोनस पाउने भएका हुन् ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट उनी एक्ला संघीय सांसद थिए । प्रदेशतर्फ गण्डकीमा २ र बागमतीमा एक सांसद थिए । वागमतीका सांसद प्रेम तामाङ कांग्रेसतिर लागिसकेका छन् । यसबीचमा बाबुराम संघीय समाजवादी फोरममा पुगिसकेपछि तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनेको थियो । जसपा पनि फुटेर राजपाको अधिकांश हिस्सा महन्थ ठाकुरसँगै लोसपा बनिसकेको छ ।

महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएको छ । तर, यो बहिर्गमन विभाजन नभएर सहमतिका आधारमा हुन लागेको उपेन्द्र पक्षधर केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले बताए ।

बाबुरामसँगै हालका कृषिमन्त्री महिन्द्रराय यादव जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । उपेन्द्र पक्षले तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरी पनि बाबुरामसँगै जाने दाबी गरेको छ । तर, राजकिशोरले भने सो दाबी अश्वीकार गरेका छन् ।

केही दिनअघिसम्म बाबुराम पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुवैतिर बहुमत पुग्ने अनुमान थियो । तर, एकाएक उपेन्द्र बलियो बनेका छन् । बाबुराम र उपेन्द्रबीच सहमतिमै अलग हुने तर भविष्यमा सहकार्य हुनसक्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस