Latest News

बालकोटमा केपी ओली र वामदेवको भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times June 30, 2022 (2 Year ago)    475 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गौतम ओली निवास बालकोट पुगेका थिए ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् । भेटका क्रममा गौतमले वाम एकताको प्रस्ताव राखेको बालकोट स्रोतले जनाएको छ ।

गौतमनिकट नेताले भने,‘हामीले त नेपालका वामपन्थीहरुबीच एकता गर्ने उद्देश्य राखेका छौं । सोहीअनुसार आज संयोजकले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीजीसँग भेट्नुभएको हो ।’

सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए । नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए ।

उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् । अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस