काठमाडौं । चुनावको सम्मुखमा एमाले अध्यक्ष केपी ओलीले २०७९ असार १७ गते सत्ता गठबन्धन टुटफुट हुने भविष्यवाणी ज्योतिषीले गरेको बताएका थिए । एक टेलिभिजन अन्तर्वार्तासहित पार्टी कार्यालय च्यासलमा ओलीले असार १७ गतेको गठबन्धनको संकटको कथा सुनाइरहँदा धेरैलाई लागेको थियो, के होला त भनेर । २०७९ असार १२ गतेसम्म आईपुग्दा गठबन्धनलाई ठूलै धक्का लाग्ने गरी कुनै घटनाक्रम विकसित भइसकेका त छैन तर संकेतहरु भने देखिन थालेका छन् ।
खासगरी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७९ असार १० गते प्रधानमन्त्री हुने आकांक्षा राखेको कुरा र एकीकृत समाजवादीभित्र देखिएको अन्तरविरोधले गठबन्धन सरकारलाई ठूलै समस्या पर्ने देखिन थालेको छ ।
२०७९ जेठ २२ गते एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने पार्टीले निर्णय गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन गराएका छैनन् । यसै विषयले एकीकृत समाजवादीभित्र भँुईचालो गइरहेको छ । उस्तै परे पार्टी छोड्ने लहर नै चल्न सक्छ भन्ने विश्लेषण पनि भइरहेको छ । एकीकृत समाजवादीभित्रको लफडाले प्रतिनिधि सभाबाट बजेट नै पारित नहोला भन्ने अवस्था पनि देखिएको थियो । यद्यपि, प्रतिनिधि सभाबाट बजेट पारित भइसकेको छ भने राष्ट्रिय सभाबाट भने बजेट पारित भइसकेको छैन । यी परिघटना हेर्दा अहिले सत्ता गठबन्धन चरम विवादमा फसेको संकेतहरु देखिन्छन् । त्यसैले गठबन्धन टुट्ने वा नटुट्ने चरम अवस्थामा रहेको बेलामा प्रधानमन्त्री शेरवहादुर देउवाको संकट सहजै आंकलन पनि गर्न सकिन्छ ।
प्रचण्डको च्याँखेदाऊ
२०७९ असार १० गते नेपाल पर्वतारोहण संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिलाई विदाई गर्ने कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीका लागि आफ्नो चाहना प्रकट गरेपछि तत्काल र दीर्घकालका लागि प्रचण्डले च्याँखे दाऊ राखेको हो भन्ने विश्लेषण पनि हुन थालेको छ । यसमा कतिपयले प्रचण्डले चुनावअघि नै चुनावी सरकारको नेतृत्व गर्ने मनसाय राखेको भनेका छन् भने कतिपयले प्रचण्डले संघीय चुनावपछि बन्ने सरकारमा नजर लगाएको पनि भन्ने गरेका छन् । तर, जे भएपनि प्रचण्डले सौदाबाजीको राजनीतिमा एउटा दाऊ भने फालेका छन् ।
अहिले नेपाली कांग्रेसलाई एमालेसँगको वामगठबन्धनको डर देखाएर प्रचण्डले सौदाबाजीको मूल्य बढाउन खोजेका हुनसक्छन् । कांग्रेससँगको गठबन्धनबाट धेरै सीट लिनका लागि पनि एमालेको त्रास कांग्रेसलाई देखाउनुपर्ने बाध्यतामा प्रचण्ड देखिन्छन् । त्यसबाहेक कांग्रेसको डर देखाएर एमालेसँग सौदाबाजी गर्ने मौका पनि प्रचण्डको साथमा छ । त्यसैले, एकप्रकारले अहिले प्रचण्ड दुवै दलको तानातानमा छन् ।
कांग्रेस प्रचण्डलाई सत्ता सुम्पिन किन चाहँदैन
बाहिर नभनिए पनि नेकपा एमाले कांग्रेसलाई साइजमा राख्न प्रचण्डलाई तान्ने प्रयासमा देखिन्छ । मौका पाए गठबन्धनभित्रैबाट वा गठबन्धनबाट फुत्त निस्किएर तत्कालै, अहिले नै प्रचण्ड प्रधानमन्त्री हुने अवस्था पनि रहेको छ । तत्काल र दीर्घकालमा पनि प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पिन कांग्रेस भने तयार हुन सक्दैन । देउवा यस्तो निर्णय स्वीकार गरेर प्रचण्डलाई सत्ता सुम्पिन तयार हुने देखिदैन । किन भने देउवाको सत्ताको आधार स्तम्भको रुपमा रहेको अमेरिका पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सहमत हुन सक्दैन ।
त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै परिस्थिति प्रचण्डका लागि तत्काल प्रधानमन्त्री हुने देखिदैँन । अहिले पनि अमेरिकनहरु संसदमा बामपन्थी दलहरुको वर्चश्व कमजोर होस् भन्ने चाहन्छ ।
त्यसका लागि कांग्रेसलाई ठूलो दल बनाएर नै जानुपर्छ भन्ने रणनीतिमा अमेरिकीहरु सक्रिय देखिन्छन् । त्यसैले पनि प्रचण्डको चाहना तत्काल र दीर्घकालमा पूरा हुने अवस्था देखिँदैन । त्यसैले अमेरिकीहरु स्याटलाइट(उपग्रह) पार्टीलाई साथ लिएर कांग्रेस जाओस् जसका कारण संसदमा वामपन्थी वर्चश्व पनि कमजोर होस् भन्ने अभिप्राय देखाइरहेका छन् ।
प्रचण्डलाई मात्र केपीको भर
प्रचण्डले इच्छा राखेजस्तै चुनावी प्रधानमन्त्री वा चुनाव पश्चात प्रधानमन्त्री बन्ने हो भने प्रचण्डका लागि एमाले अध्यक्ष केपी ओलीको साथ नै आवश्यक छ । नेकपाकालीन तुषको विषयमा दुवै नेताले मन माझामाझ गरेको अवस्थामा पुनः वामगठबन्धनको संभावना प्रवल छ । प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनाको भ¥याङ केपी ओली नै हुनुपर्ने अवस्था पनि प्रवल नै छ । त्यसैले एमाले अध्यक्ष ओलीको भरमा प्रधानमन्त्री हुनका लागि दुई नेताबीच मन माझामाझको अवस्था भने हुनुपर्ने हुन्छ ।
दुवै नेताले आत्मालोचना गरेको अवस्थामा कांग्रेस संघीय चुनावमा पहिलाझै २३ सीटभन्दा तल नै खुम्चिन सक्ने संभावना पनि हुन्छ । ओलीको भर पाए प्रचण्डका लागि पनि त्यो ऐतिहासिक अवसर आउनसक्छ । तर, यहाँ विर्सिन नहुने कुरा चाहिं के छ भने प्रचण्ड चुनावी सरकारका लागिमात्रै प्रधानमन्त्री हुन राजी हुने संभावना कम रहेको छ ।
त्यसैले प्रचण्डले केपी ओलीसँग चुनावपछिको सरकारको विषयमा पनि पार्टीगत–औपचारिक रुपमा नै छिनोफनो गर्न सक्छन् । आउने ५ बर्षे कार्यकालका लागि एमाले–माओवादी केन्द्रबीच बाँडफाँड गर्नेका लागि अध्यक्ष ओलीलाई बाध्य पार्न सक्छन् । हिजो जसरी दुई नेताबीच मात्रै प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडको सहमति भएको थियो, त्यसलाई छोडेर अहिले पार्टीसँग च्यानलमै सहमति गर्नेगरी अगाडि बढ्न सक्ने नेताहरुबीच चर्चा हुने गरेको छ । अध्यक्ष केपी ओलीका लागि पनि यो चुनाव संभवत अन्तिम चुनाव हुनसक्छ । उमेर र पार्टीको नेतृत्वको हिसाबले आउँदो चुनाव अध्यक्ष ओली प्रतिस्पर्धा नगर्न सक्छन् । त्यसैले अहिले प्रतिपक्ष भएर बस्नका लागिमात्रै अध्यक्ष ओली चुनावमा जालान भन्ने अनुमान गर्न सकिँदैन ।
त्यसैले, प्रचण्डको चाहना र ओलीको रणनीति एक साथ मिलेको अवस्थामा वाम गठबन्धन बन्नका लागि असारमै नयाँ सरकार बन्न पनि सक्छ । यही डरका कारणले अहिले देउवा अमेरिकाको भ्रमण अलमलमा परेको छ भने अमेरिकी सैन्य सम्बन्ध विस्तार गर्ने गरी भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को सम्झौताबाट प्रधानमन्त्री देउवा पछाडि हटेका छन् । यद्यपि, देउवाले एसपीपीमा नजोडिने भनेर अमेरिकालाई पत्र लेख्न भने अझै पनि हिम्मत जुटाएका छैनन् । जनआस्थाबाट