काठमाडौं– लोकगायिका दिलमाया सुनारको पोष्टमार्टमा रिपोर्ट आएको छ । उनले ज्यान गुमाउनुको कारण झुण्डिएर भएको पोष्टमार्टम रिपोर्टले देखाएको अधिकारीहरुले बताएका छन् ।
गायिका सुनार काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा शनिबार बिहान ज्यान गुमाएको अवस्थामा अवस्थामा फेला परेकी थिइन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमायाको शव सोमबार पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टममा ‘ह्याङ्गिङ’ (झुन्डिएर) का कारण ज्यान गएको देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
विस्तृत रिपोर्ट दिन बाँकी छ तर प्रारम्भिक जानकारी अस्पतालले प्रहरीलाई पनि दिइसकेको छ । कसैले घाँटी थिचेर ज्यान लिएको हुन्थ्यो भने स्वासप्रश्वास अवरुद्ध भएर ज्यान गएको देखिन्थ्यो, तर त्यस्तो नपाइएको अस्पतालले जनाएको छ ।
सुर्खेतको मालारानी घर भई काठमाडौंमा लोकदोहोरी मार्फत उदयीमान गायिकाको परिचय बनाउँदै गरेकी दिलमाया सुनार काठमाडौंको बानियाँटार बस्थिन् । शनिबार विहान ११ बजेसम्म पनि कोठाको ढोका बन्द रहेको देखेपछि एक छिमेकी उनको कोठामा चियाउन पुगे । ती छिमेकीले ‘दिदि’ भनेर ढोका धेकेलेका दिए ।
ढोका खोलियो । दिलमायाँ खाटमा पल्टिएकी थिइन् । उनी खाटमै पल्टिएको देखेपछि छिमेकीलाई शंका लाग्यो र प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा उनको मृत शरिर खाटमा उत्तानो अवस्थामा देखियो । वरिपरि मदिराका बोतल थिए ।
ज्यान जानुअघि दिलमायाले मोबाइलमा विरहको स्ट्याटस पोखेकी थिइन् । तर, त्यही स्ट्याटस लेख्ने मोबाइल भने प्रहरीले भने अहिलेसम्म फेला पार्न सकेको छैन । ‘मदिराका बोतल छरिएको अवस्थामा भेटियो । उहाँ मृत भेटिएको कोठामा ढोका पनि लगाइएको थिएन,’ महानगरिय प्रहरी बृत बालाजुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम मिश्रले भने,‘यो घटना शंकाष्पद छ । अनुसन्धान भइरहेको छ । अपराध महासाखाले पनि हेरिरहेको छ ।’
शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत अवस्थामा भेटिएकी थिइन् । उनीको घाँटिमा निल डाम भएको साथै डेरामा रक्सि खाएको गिलास भेटिएका छन् । ढोका खुल्ला भएको अवस्थामा मृत भेटिएकी उनलाई श्रीमानले यातना दिने गरेको यसअघि नै बताएकी थिइन् । प्रहरी उपरिक्षक मिश्रका अनुसार हालसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । तर, घटना भने शंकाष्पद छ ।