Latest News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटवार्ता सकियो, के–के भयो कुराकानी ?

Nepalese Times June 28, 2022 (2 Year ago)    580 Views

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलवार साँझ भेटवार्ता भएको हो । शीतल निवासमा बेलुकी साढे ५ देखि साढे ६ बजेसम्म भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

नियमित ब्रिफिङका सिलसिलामा उनीहरुबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालको भनाइ छ । राष्ट्रपतिसँग समय लिएर प्रधानमन्त्री शीतल निवास पुगेका र सौहार्दपूर्ण कुराकानी भएको उनले बताए ।

राष्ट्रपति भण्डारीले जनसरोकार र राष्ट्रियतासँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको भन्दै उनले सबै सरकारको तयारीबारे जिज्ञासा राखिन् । जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताए ।

यस्तै, राष्ट्रपतिले काठमाडौं उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कतामा जोड दिइन् । काठमाडौंका सार्वजनिक तथा निजी सबै स्वास्थ्य संस्था र स्थानीय तहहरूबिच समन्वय गरेर जान उनको सुझाव थियो । प्रधानमन्त्रीले यसमा सबैसँग सरसल्लाह गर्ने भन्दै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखिने प्रत्याभूति गराएका छन् ।

राष्ट्रपतिले खेतीको समयमा किसानहरूले भोग्दै आएको मल तथा बिउबिजनको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिन् । देउवाले यो समस्या समाधानमा पनि सरकार गम्भीर रहेको बताएका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले पछिल्लो समय चर्चामा रहेको एसपीपीका विषयमा पनि चासो राखेको स्रोतको दाबी छ । उनले ‘एसपीपी’ को उच्चारण नगरीकन नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउन दिनु नहुनेबारे प्रधानमन्त्रीलाई सम्झाएकी थिइन् ।

जवाफमा प्रधानमन्त्री देउवाले ले एसपीपीको विषयमा सबै दलहरूबिच समान धारणा रहेको भन्दै यसको समाधान भइसकेको प्रस्ट पारेका छन् ।

यस्तै, राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो व्यक्त गरेकी थिइन् ।संसद्मा पेस भएको महाअभियोग प्रस्तावलाई छिटो निकास दिनुपर्नेमा उनको जोड रहेको स्रोतले बताएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई दिनअघि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमका बेला पनि छोटो भेटवार्ता भएको थियो । यद्यपि, प्रधानमन्त्रीले धेरै समयपछि आज भेटेर लामो ब्रिफिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस