काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढीले घटेकाले मूल्य समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
यसअघिको डिजेलको मूल्य १९२ रहेकोमा शनिबार २९ रुपैयाँ घटेको र हाल बजारको मूल्य प्रतिलिटर १६३ काम भएकोले सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा १५ दशमलव १० घटी भएकोले मूल्य घटाइएको विभागले जनाएको छ।
घटाइएको मूल्य आइतबारदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको मन्त्रालयले जनाएको छ।
यसअनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले भाडा घटेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ७.६८ प्रतिशतले घटेको छ।