Latest News

एकीकृत समाजवादीका यी ३ मन्त्री प्रधानमन्त्री निवास बालुवाटार पुगे, के गर्लान् देउवा ?

Nepalese Times June 25, 2022 (2 Year ago)    880 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ३ मन्त्री प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीको निर्णयविरुद्ध हस्ताक्षर गरेका तर हस्ताक्षर फिर्ता नलिएका नेकपा एकीकृत समाजवादी का तीन मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन बालुवाटार पुगेका हुन् ।

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन् । उनीहरुले आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतले जनाएको छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि छन्।

मन्त्रिमण्डल हेरफेरको विषयमा नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दिएको पत्रमा हस्ताक्षर फिर्ता नलिएका मन्त्री तथा सांसदहरु प्रधानमन्त्रीलाई माग र अडान दोहोर्‍याउन भेट्न पुगेका हुन्।

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि आफूले कुनै सर्त नराखी मन्त्री पद छोड्ने भएकाले तत्काल आफूहरुलाई नहटाउन प्रधानमन्त्रीसँग आग्रह गर्न उनीहरु बालुवाटार पुगेका हुन् ।

गैरसांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने तथा नयाँ बन्ने मन्त्रीमा महिलालाई पनि सहभागी गराउनुपर्ने उनीहरुको सर्त छ। अध्यक्ष नेपाललाई लेखेको मागसहितको पत्रमा १० जनाले हस्ताक्षर गरेकोमा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।

कपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन्। मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। ‘त्यो सर्त गलत हो। पार्टीसँग यस प्रकारको बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन’, शनिबार बसेको केन्द्रीय कमिटीको बैठकपछि खतिवडाले भने।

मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्‌मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए।

जेठ २२ गते सम्पन्न सचिवालय समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको महिना दिन पुग्न लाग्दा पनि मन्त्री भने फेरिएका छैनन् । पार्टीले निर्णय गरेतापनि पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस