Latest News

एकीकृत समाजवादीको बैठक सकियो, को-को बन्ने भए नयाँ मन्त्री ?

Nepalese Times June 25, 2022 (2 Year ago)    559 Views

काठमाडौं । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गत जेठ २२ गते सचिवालय समितिले गरेको मन्त्री फेर्ने निर्णयलाई अनुमोदन गरेको हो । यसअघि, शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले पनि सचिवालय समितिको निर्णय अनुमोदन गरेको थियो ।

जेठ २२ गते सम्पन्न सचिवालय समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको महिना दिन पुग्न लाग्दा पनि मन्त्री भने फेरिएका छैनन् । पार्टीले निर्णय गरेतापनि पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका छैनन् ।

केन्द्रीय कमिटी बैठकले पनि सचिवालयको निर्णय अनुमोदन गरेपछि अब भने फिर्ता हुन नचाहने मन्त्रीहरुलाई नैतिक दबाब बढेको छ । सम्भवत आजै नभए भोली दिनभरमा एकीकृत समाजवादीका नयाँ मन्त्रीले शपथ लिने एक नेताले बताए ।

मन्त्री फेर्ने सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीले एकमतका साथ अनुमोदन गरिरहेको बेला चार मन्त्री भने बैठकमा सहभागी छैनन् । पार्टी नेतृत्वलाई समेत जानकारी नदिइ बैठकमा सहभागी नभएका मन्त्रीको खोजी भइहरको छ ।

 

प्रतिक्रिया दिनुहोस