Latest News

माओवादी केन्द्रका यी नेताहरु कांग्रेससँगको सहकार्य कायमै राख्नुपर्ने पक्षमा

Nepalese Times June 25, 2022 (2 Year ago)    494 Views

काठमाडौं । प्रतिनिधिसभा चुनावको मिति नतोकिँदै राजनीतिक दलहरु भने चुनावी माहोलमा होमिएका छन् ।

चुनावी सरगर्मीसँगै सत्ता गठबन्धन र वाम गठबन्धनको बहसलेसमेत प्राथमिकता पाएको छ । केही दिनदेखि माओवादी केन्द्र वाम एकतालाई प्राथमिकता दिएर एमालेसँग मिल्छ कि नेपाली कांग्रेससँगको सहकार्य नै अघि बढाउला भन्ने चर्चा पनि भइरहेको छ ।

अबको पार्टीको राजनीतिक बाटोलाई लिएर माओवादी केन्द्रमा भने दुई धार देखा परेको छ । एक पक्ष यहि सत्ता गठबन्धनलाई कायम राखेर अगाडि बढ्नुपर्ने पक्षमा रहेका छन् भने अर्को पक्ष वाम एकता गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।

नेपाली कांग्रेससँगकै सहकार्यमा अगाडि बढ्ने वा फेरि नेकपा एमालेसँगै मिलेर जाने भन्नेमा नेताहरू दुई धारमा देखिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समस्यामा परेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेकै सत्ता गठबन्धनको निरन्तरता हुने बताइरहे पनि नेताहरू पनि विकल्प खोज्नुपर्ने लाइनमा देखिन्छन् ।

बेलाबेला प्रचण्डले समेत कांग्रेसले आफूहरूको अपमान गरे ठेगान लगाउने चेतावनी दिँदै आएका छन् । तर, माओवादी केन्द्रभित्रै दोस्रो तहका नेताहरू गठबन्धन भत्काउन र जोगाउन सक्रिय छन् ।

माओवादी एक स्थायी कमिटी सदस्यका अनुसार नेताहरू जनार्दन शर्मा ‘प्रभाकर’, कृष्णबहादुर महरा, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेताहरू अहिलेकै सत्ता गठबन्धनको निरन्तरता खोजीरहेका छन् ।

अर्थमन्त्री समेत रहेका नेता शर्माले अहिलेको अवस्थामा शेरबहादुर देउवालाई धोका दिन नहुने लाइनमा छन् ।

शर्मा अहिलेकै गठबन्धनको निरन्तरतामा रहेकाले प्रधानमन्त्री देउवाको निकट हुन पुगेको स्रोतको दाबी छ । माओवादी स्थायी कमिटी सदस्य भन्छन्, “अहिले अर्थमन्त्रीले जे गरे पनि प्रधानमन्त्रीज्यूले बचाउ गर्नुहुन्छ । पार्टीभित्र उहाँलाई हटाउन दबाब बढ्दो छ । तर प्रधानमन्त्री अर्थमन्त्रीमा उहाँकै निरन्तरता खोज्नुहुन्छ भन्ने छ । त्यसैले अहिले माओवादीले मन्त्री फेर्न सकिरहेको छैन ।”

आगामी कात्तिक वा मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने तयारी छ । असार १५ गते माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सो बैठकमा राजनीतिक घटनाक्रम लगायत स्थानीय तहको चुनावबारे समीक्षा हुने छ । एक नेताका अनुसार आगामी निर्वाचनको सहकार्यको विषय पनि केन्द्रीय कमिटी बैठकमा प्रवेश हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस