Latest News

केपी ओली र झलनाथ खनालबीच टेलिफोन कुराकानी, गठबन्धनमा खैलाबैला

Nepalese Times June 24, 2022 (2 Year ago)    630 Views

काठमाडौं । स्थानीय तह निर्वाचन सकिएलगत्तै नयाँ राजनीतिक तरंगहरु पैदा हुन थालेका छन् । पालिका चुनावमा गठबन्धनलाई पछि पार्दै पहिलो पार्टी बन्ने दाउसहि चुनावी मैदानमा होमिएको नेकपा एमाले दोस्रोमा खुम्चिन पुगेपछि उसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुलाई विभिन्न अफर अघि सार्न थालेको छ ।

स्थानीय तह निर्वाचनमा दोस्रो दल बनेको एमालेका शीर्ष नेताहरु आउँदो मंसिरमा हुने चुनावसम्म जसरी हुन्छ सत्ता गठबन्धन भत्काउने रणनीतिमा सक्रिय छन् । उनीहरु कहिले वाम गठबन्धन त कहिले अरु कुनै अफरसहित माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु फकाउन क्रियाशिल देखिन्छन्।

यसै क्रममा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच टेलिफोन संवाद भएको छ ।

उनीहरुबीचको टेलिफोन कुराकानीका क्रममा ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रस्तावसहित आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धन टुटाएर बाम तालमेल गरेर अघि बढ्न आग्रह गरेका स्रोतको दाबी छ ।

खनाल भने कम्युनिष्ट शक्ति एक हुनुपर्ने पक्षमा आफू रहेपनि ओलीको प्रस्तावलाई स्वीकारेर अघि बढिहाल्ने अवस्थामा आफू नरहेको बताइरहेका छन् । ओलीले विभिन्न प्रलोभन देखाएर अन्तिम अवस्थामा धोका दिएको धेरै उदाहरणहरु रहेको भन्दै खनालले अहिले संवेदनशील बनेर अघि बढ्नुपर्ने समय आएको भनेका छन् ।

यसैक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नयाँ मन्त्री तत्काल नियुक्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिन थालेका छन् ।

खनालले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन संस्कृतिअनुसार अघि बढ्नुभएको छैन । हाम्रो पार्टीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम दिएको तीन हप्ता पुग्न लाग्यो । त्यो अहिलेसम्म कार्यान्वयन नहुनु आश्चर्यजनक कुरा हो । गठबन्धनका प्रमुखले त्यसलाई तदारुकताका साथ कार्यान्वयन नगर्नु हामीलाई अपमान गरे सरह हो । अब गम्भीर परिणाम भोग्नुपर्ने पनि हुन सक्छ ।”

एमालेका दोस्रो तहका नेताहरु पनि भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी र एकीकृत समाजवादीका नेतालाई भेट्न थालेका छन् ।

एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।

एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् । स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ ।

प्रतिक्रिया दिनुहोस