काठमाडौं । केही दिनदेखि नेकपा एकीकृत समाजवादी पार्टीत्रिको विवाद सतहमा आएको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले एकीकृत समाजवादीमा तरंग पैदा भएको छ ।
भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णयमा मन्त्रीहरु प्रेम आले र रामकुमारी झाँक्री सन्तुष्ट छैनन् । पार्टीभित्रको विवाद सतहमा आएको समयमा समाजवादीकी सचिवसमेत रहेकी नेतृ तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाको छुट्टै पार्टीबारे बहस चलाएकी छन्।
फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिँदै उनले नेपालमा पनि महिलाको पार्टी गठनबारे बहस चलाएकी हुन् ।
एकीकृत समाजवादीले उनलाई फिर्ता बोलाएर सबै पुरुष मन्त्री सिफारिस गरेको सन्दर्भमा उनले सामाजिक सञ्जालमा चलाएको उक्त ‘बहस’लाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
उनले उक्त पार्टीबारे जानकारी दिँदै लेखेकी छिन्, ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्।’ सामाजिक सञ्जाल ट्विटरमा उनले बहस र प्रतिक्रियाका लागि भन्दै उक्त पार्टीका बारेमा उल्लेख गरेकी छिन्।
पार्टीका विषयमा भनिएको छ, ‘ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ।’
एकीकृत समाजवादीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको छ। आफू फिर्ता हुँदा पनि एकजना महिलाको प्रतिनिधित्व हुनुपर्ने माग झाँक्रीको छ।
अध्यक्ष माधवकुमार नेपालसँग यही विषयमा उनको विवाद भएको बताइएको छ। उनले यस्तो स्टाटस सामाजिक संजालमा पोस्ट गरेसँगै उनले पनि अब महिलाहरुको छुट्टै पार्टी गठनको तयारी सुरु गरेको बुझ्न गाह्रो छैन ।
“The Gabriela Women’s Party (General Assembly Binding Women for Integrity, Reform, Equality, Leadership and Action) or simply GABRIELA, is a progressive Filipino political party that advocates for women’s issues and represents Filipino women in the House of Representatives.”
— Ram kumari Jhakri (@Jhakri_didi) June 23, 2022