Latest News

न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बार एशोसिएशन पनि बोल्यो (विज्ञप्तिसहित)

Nepalese Times June 22, 2022 (2 Year ago)    524 Views

काठमाडौं । न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा नेपाल बार एसोसिएसन पनि बोलेको छ ।

बारका महासचिव अन्जिता खनालले विज्ञप्ति निकालेर काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको उनले स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एशोसिएसनले सदैव पहरेदारी गरि आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोख्रेल बीचमा ई।इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

बारले सार्वजनिक अडियोका सम्बन्धमा छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस