Latest News

प्रधानमन्त्री देउवाले सिर्जना सिंहलाई दिने भए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times June 21, 2022 (2 Year ago)    739 Views

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा सिर्जना सिंहलाई मनोनित गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृसंस्था महिला संघको केन्द्रीय कार्यसमिति विघटन भएपछि नयाँ तदर्थ समिति गठन गर्ने तयारी भएको हो । सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा सिर्जना सिंहलाई मनोनित गर्ने तयारी गरेको बताइएको छ ।

सिंहलाई अध्यक्ष नियुक्त गर्नेबारे चाक्सीबारीमा पनि छलफल भइसकेको बुझिएको छ । ‘महिला संघको अध्यक्षमा सिर्जना भाउजू लगभग निश्चित जस्तै हो, उहाँको नाममा कसैको विमति छैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘काठमाडौं महानगरको मेयरको प्रत्यासी भइसकेपछि अब उहाँलाई पार्टीमा पनि भूमिका दिन खोजिएको हो । यसमा उहाँसँग पनि कुराकानी भइसकेको छ ।’

सिर्जना महिला संघ काठमाडौंको सल्लाहकार हुन् । महिला संघ काठमाडौंले नै सिर्जनालाई मेयर उम्मेदवारमा प्रस्ताव गरेको थियो । सभापति देउवाले विघटन गरिएका भ्रातृसंस्थाको कार्यसमिति छिट्टै गठन गर्ने तयारी सुरु गरेसँगै महिला संघको नेतृत्वमा सिर्जनाको नाम चर्चामा आएको हो । महिला संघका अध्यक्षसहित अधिकांश पदाधिकारी पार्टी केन्द्रीय सदस्य बनेका छन् ।

कांग्रेसले पटकपटक म्याद थप्दा पनि अधिवेशन गराउन नसकेका दश भ्रातृसंस्थाको कार्यसमिति विघटन गरेको थियो । कांग्रेसको फागुन ३ गतेको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघलगायत दश भ्रातृसंस्थाको कार्यसमिति विघटन गर्दै एक महिनाभित्रै केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

तर पार्टीले चार महिना पुग्न लाग्दा पनि नेविसंघ र तरुण दलबाहेकको कार्यसमिति चयन गर्न सकेको छैन । नेविसंघ र तरुण दलमा अध्यक्ष मात्रै नियुक्त भएका छन् भने बाँकी कार्यसमितिको टुंगो छैन । असार दोस्रो साताभित्र सबै भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्ने गरी छलफल सुरु भइसकेको कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति विघटन गरेको थियो ।

काठमाडौं महानगरको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी सिर्जना झण्डै तीन दशकपछि फेरि राजनीतिमा सक्रिय भएकी हुन् । कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय भएपनि विहेपछि भने राजनीतिमा निष्क्रिय भइन् । पार्टी राजनीतिमा क्रियाशील नभएपनि उनले प्रकाशमानको राजनीतिक व्यवस्थापनमा भने सहयोग गर्दै आएकी छन् ।

राजनीतिमा प्रत्यक्ष रुपमा क्रियाशील नदेखिएपनि उनले सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएकी छन् । २०३७ सालमा शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुषाललाई हराएर सिर्जना कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस