Latest News

ओली, प्रचण्ड र देउवाको क्षेत्रबाट चुनाव लड्ने मन छः रवि लामिछाने

Nepalese Times June 21, 2022 (2 Year ago)    715 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् । मंगलबार आयोजित कार्यक्रममा लामिछानेले भने, ‘मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ ।’

‘म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन ’ उनले भने ‘राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।’

उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए । उनले दलको नाम तीन पटक उच्चारण गरेका थिए। उनले घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए।

लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे। उनले त्यसक्रममा आफैंले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको उनले बताएका छन्।

लामिछानेले दलमा आउनेहरुलाई स्वागत गरिने बताए। क्षमतावान व्यक्तिहरुलाई, स्वतन्त्र उम्मेदवार भएकालाई खुला हृदयले स्वागत गर्न चाहेको उनले बताए। सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस