काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।
निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन ।
आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो । नेपाल वायु सेवा निगमका कर्मचारीहरुले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गरेका थिए ।
यस्तै विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो।
सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।
२०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो। एक मन्त्रीका अनुसार असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको हो।
जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौता अझ विवादित बनेको थियो।
एसपीपीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक तर प्रधानसेनापति प्रभुराम शर्मा अनिर्णित थिए। फ्लिनले एसपीपीलाई प्रधानसेनापति शर्माको आसन्न अमेरिका भ्रमणमै अघि बढाउने गरी सम्झौता गर्नुपर्ने कुरा नेपाल भ्रमणका क्रममा राखेका थिए।
उनले नेपाल भ्रमण सकेर फर्किएपछि नेपाल भ्रमण उत्साहजनक भएको पनि प्रतिक्रिया दिएका थिए। त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानबिन हुने भएको छ।
बैठकले सो घटनामा छानबिन गर्ने निर्णय गरेको छ। साथै एक समिति गठन समेत भएको एक मन्त्रीले जानकारी दिए।निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन पनि गरेको छ ।