Latest News

मन्त्रिपरिषद् बैठक सकियो, एसपीपीबारे यस्तो छ महत्वपूर्ण निर्णय

Nepalese Times June 20, 2022 (2 Year ago)    481 Views

काठमाडौं ।विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने गरी सरकारले पत्र लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एवम् सांसद भीम रावलले अमेरिकालाई स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको पत्र पठाउन कसले रोक्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेकोमा आपत्ति समेत जनाए ।

‘अमेरिकी राजदूतावासले यदि नेपालले यो सदस्यता रद्ध गर्ने हो भने गर्न सक्छ भनेर भनिराखेको छ । सार्वजनिक रुपमा भन्यो । तर बालुवाटारमा बैठक बसेर गठबन्धनका नेताहरु सर्वदलीय बैठक बोलाउने भन्ने समाचार माध्यममा पढ्न पाइयो । साझेदारी कार्यक्रममा संलग्न हुने बेलामा सर्वदलीय बैठक चाहिएन । अनि यो नेपाल सैनिक अखडा हुन सक्दैन’, रावलको भनाइ छ ।

उनले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न गरे ।

‘यो हिन्द प्रशान्त रणनीतिको अंग हुन सक्दैन भनेर नेपाली जनताले व्यापक रुपमा आवाज उठाउँदाखेरी, संसदले आवाज उठाउँदाखेरी सरकारका मन्त्रीहरु हामी सैनिक गठबन्धन नजान प्रतिवद्ध छौँ । हामी संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन के ले रोक्यो ? यदि उहाँहरु आफ्नो भनाइप्रति इमान्दार हुनुहुन्छ भने अमेरिका स्वयंले यदि नेपाल यसको सदस्य हुन चाहँदैन भने रद्ध गर्न सक्छ भनिसकेपछि हामी हुन चाहँदैनौ भनेर पत्र किन नपठाएको त ? कसले रोक्यो त ?’, रावलको भनाइ छ । उनले भने, ‘प्रधानसेनापति हुनुहुँदैन भन्ने । परराष्ट्र मन्त्री हामी हुँदैनौ भन्ने । गृहमन्त्री संसदमा हुँदैनौ भन्ने । गठबन्धनका नेताहरु यो त हुनुहुँदैन भन्ने । अनि पत्र रोक्ने हात समात्न आएको को रहेछ त ? ’

नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरूसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । ‘आगामी निर्वाचनमा यदी नेपालको संविधानको सम्मान गर्ने हो भने समान विचार, समान कार्यक्रम भएकाहरुले मात्रै यस्तो लोकप्रिय मतको लागि एक भएर जानसक्ने हुन्छ । विपरित सिद्धान्त र विचार भएका मान्छेले लोकप्रिय मत मिलेर जान्छौँ भन्ने कुरा अनैतिक कुरा हो’, रावलको भनाइ छ । उनले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस