काठमडौं । संसदीय समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले यस्तो निर्देशन दिएको हो । शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो ।
अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिकको हिस्साको रुपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्धारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा रुपष्ट रुपमा औचिारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।’ समितिको निर्णयमा उल्लेख छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको प्रतिक्रिया दिएका छन् ।
स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको बताएका हुन् ।
६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको उनलेबताए ।
उनले भने, ‘हामी कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’
उनले भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए ।
आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए ।