Latest News

अमेरिकी सेना सम्झौता एसपिपीबारे बोले गगन थापा, प्रधानमन्त्रीसँग मागे जवाफ

Nepalese Times June 15, 2022 (2 Year ago)    551 Views

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले स्टेट पार्टनसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्।

‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैँले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’

थापाले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’ यो विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाले माग गरे ।

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने थापाले बताए।

आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए।

प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्नेतर्फ सचेत गराए । सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न खडा गरे ।

उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’

सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भिर प्रश्न उठाएको उनको भनाइ थियो ।

‘हामी सबैका मित्र हौं । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस