Latest News

घनश्याम भूसालमाथिको कारबाहीको सिफारिस अनुमोदन, एमालेले गर्यो यस्तो निर्णय

Nepalese Times June 14, 2022 (2 Year ago)    814 Views

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यस्तो निर्णय गरेको हो ।

यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको नेकपा एमालेका एका नेताले बताएका छन् । ‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारवाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सचिवालय सदस्यले भने ।

१८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए ।

तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।

सचिवालय बैठक सकिएको भोलिपल्ट, मंगलबार बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

‘आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्छ । हामीले सिफारिस गर्ने हो, टेलिभिजनको त्यो अन्तर्वार्ता कारवाही योग्य छ’, आयोगका ती सचिवालय सदस्यले भने ।

भूसालले हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

आयोगको बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारवाही गर्न समेत सिफारिस गरेको छ । तर ठाउँ र व्यक्ति भने तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस