Latest News

राजेन्द्र पाण्डले बागमतीको मुख्यमन्त्री नछाडे कांग्रेसले के गर्छ ? यसो भन्छन् ईन्द्रबहादुर बानियाँ

Nepalese Times June 14, 2022 (2 Year ago)    694 Views

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् ।

प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको भन्दै बानियाँले कांग्रेसलाई छोडेको खण्डमा ठिकै छ, नत्र कांग्रेसले जबरजस्ती नगर्ने भने ।

अहिले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् । उनले मुख्यमन्त्री पद आफूले नछाड्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोर्नुपरेकोसमेत बताएका छन् ।

उनले भने, ‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो । कांग्रेसले नराम्रो काम गरेन, हल्लाको पछाडी जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन् ।’

पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताएका हुन् । उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधीसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिहरूप्रति प्रश्न खडा हुने बानियाँले बताए ।

अहिले जितेका जनप्रतिनिधिहरूलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस