काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग स्पष्टीकरण सोध्नेसम्बन्धी अनुशासन आयोगको सिफारिसको बारेमा आज छलफल हुन सकेन ।
भूसालमाथि कारबाही हुने विषयमा छलफल नभएको र एजेण्डा नै नरहेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् । कतिपय नेताले भुसालमाथि कारबाहीको प्रोपोगाण्डा मिडिया खपतका लागिमात्र ल्याइएको भन्दै उनले पार्टी बैठकमा त्यसले प्राथमिकता नपाउने बताए ।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको छ । आयोगका अध्यक्ष केशव बडालले सचिवालयको बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए ।
स्थानीय चुनावलगत्तै एमाले वृत्तमा छलफलको विषय बनेको स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीबारे छलफलको एजेण्डा नबनेको र छलफलसमेत नभएको उनले बताए ।
‘त्यसबारे कुरै भएन । कसैले प्रस्ताव पनि ल्याएन, एजेण्डा पनि बनेन’ एक सहभागीले भने, ‘भोलि एजेण्डा बन्न पनि सक्छ । कसैले उठाए भने त छलफलको एजेण्डा हुने नै भयो नि ।’
बैठकमा स्थानीय चुनावको समीक्षा प्रतिवेदन पेश भएको छ । गठबन्धनको घेराबन्दीबीच जनमत एमालेको पक्षमा रहेकाले निराश हुन नपर्ने बैठकमा नेताहरुले बताएका छन् ।
सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको थियो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको हो ।