Latest News

कांग्रेसका बागी उम्मेदवारलाई देउवाको टेलिफोन, गठबन्धनमा खुसियाली

Nepalese Times June 13, 2022 (2 Year ago)    1266 Views

काठमाडौं । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी गठबन्धनतिरै खुल्ने भएका छन् ।

आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएसँगै सत्ता गठबन्धनमा खुसीयाली छाएको एक नेताले बताए।

कैलाली जिसस नेतृत्वका लागि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीकबीच गठबन्धन हुने भएको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले नै टेलिफोन गरेर सम्झाएपनि उनी गठबन्धनतिरै लाग्ने भएका हुन् ।

हिजो साँझ स्वकीय सचिव भानु देउवा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । करिब पाँच मिनेटसम्म दुईजनाबीच संवाद भएको बताइएको छ । यो क्रममा देउवाले राजसमझलाई कांग्रेसको उम्मेदवार भएको बताए । देउवाले जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन पनि आग्रह गरेका थिए ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीबाटै फोन आएपछि गठबन्धनमा मत दिने निर्णयमा पुगेको उनले बताए । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि राजसमझलाई कारबाही गरिएको थियो ।

राजसमझले १० हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार लाजुराम ६ हजार ४ सय ३० मतमा रोकिएका थिए ।आफूलाई कारबाही गरेको भन्दै जिल्ला समन्वय समितिको निर्वाचनमा तटस्थ बस्ने घोषणा गरेका राज समझले अन्ततः गठबन्धनकै उम्मेदवारलाई मत दिने भएका छन् ।

यसअघि उनले आफूमाथिको कारबाही फुकुवा नभएसम्म आफूले गठबन्धनका उम्मेदवारलाई मत दिन नसक्ने बताउँदै आएका थिए ।
तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले फोन गरेपछि उनी गठबन्धनलाई मत दिन तयार भएका हुन् ।

आफ्नो कारबाही फुकुवा भएको र पार्टी सभापतिले पनि आफूलाई नै कांग्रेसको आधिकारिक उम्मेदवार हो भनेकाले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन तयार भएको उनले बताए ।

कैलाली जिससको निर्वाचन रोचक हुने देखिएको छ । यहाँ १३ पालिकाका २६ जना मतदाता हुन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

अध्यक्ष उपाध्यायको मतदानसम्बन्धी निर्णय सर्वोच्च अदालतको भर हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बताउँछन् । उपाध्यायले मतदान गर्न नपाए कैलालीमा २५ जना मतदाता रहन्छन् । २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । यहाँ कांग्रेसले ८, माओवादीले मोहन्याल बाहके ३ र नेकपा एकीकृत समाजवादी १ पालिकामा जित हासिल गरेका थिए ।

अर्को तर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा तटस्थ बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस