Latest News

देउवा, प्रचण्ड र माधवबीच भेट, मन्त्री हेरफेरबारे भयो यस्तो सहमति

Nepalese Times June 9, 2022 (2 Year ago)    639 Views

काठमाडौं । गठबन्धनका तीन शीर्ष नेताहरुले संसदबाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने निर्णय गरेका छन्।

बालुवाटारमा बिहीबार दिउँसो प्रधानमन्त्री देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका हुन्।

उनीहरुबीच दिउँसो ३ बजे समसामयिक विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ। ‘समसामयिक विषयमा छलफल भएको हो,’ स्रोतले भने। पछिल्लो समय एकीकृत समाजवादीले आफ्ना ४ मन्त्री फेर्ने निर्णय गरेसँगै सत्तारुढ दलहरुमा समस्या देखिएको छ।

अध्यक्ष नेपाल मन्त्री फेरेर शपथ गराउनुपर्ने पक्षमा छन्। समाजवादीको उक्त निर्णयले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने दबाब छ।

आज बालुवाटारमा भएको कुराकानीबाट बजेटपछि मात्रै मन्त्रिपरिषदबारे निर्णय लिने सहमति भएको स्रोतले जानकारी दियो। एकीकृत समाजवादीले आइतबार नै आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री देउवा समक्ष नाम बुझाएको थियो।

बाहिरिने मन्त्रीहरुकै असन्तुष्टि र बजेटमाथिको छलफल जारी रहेको भन्दै देउवाले अध्यक्ष नेपाललाई केही दिन पर्खिन आग्रह गरेका थिए। अब त्यो भाखा बजेट पारित भएपछिका लागि सरेको छ।

बजेट पारित गर्न संसदका दुवै सदनमा छलफल चलिरहेको छ। प्रतिनिधिसभाबाट बजेट जेठभित्रै पारित हुने र त्यसपछि राष्ट्रियसभामा जानेछ।

अझै शुक्रबार र आइतबार मन्त्रालयगत विनियोजनमा छलफल हुने र त्यसपछि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

सभामुख अग्नि सापकोटका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार जेठ महिनाभित्र बजेट पारित हुने सम्भावना छ। यदि दुवै सदनबाट बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने हो भने असार दोस्रो हप्तामा मात्रै हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस