Latest News

मेलम्चीमा बढ्यो पानीको बहाब, मानिसहरुको भागाभाग

Nepalese Times June 9, 2022 (2 Year ago)    565 Views

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ। अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले आज बिहान ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति पुर्‍याएको हो।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। यो अस्थायी संरचना बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताए। मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ। मेलम्चीमा पानिको वहाव बढेसँगै त्यस ठाउँका मानिसहरुको भागाभाग नै मच्चिएको छ ।

यस्तै मनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँका सडकखण्डमा समस्या देखिन थालेको छ । पहिरोले मुग्लिङ–नौविसे र मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ।

मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ—नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक बन्द भएको छ ।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

प्रतिक्रिया दिनुहोस