काठमाडौं । स्थानीय तहको चुनाव सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभा चुनावको रस्साकस्सी सुरु भइसकेको छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्रदेखि राजनीतिक दलका व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।
केही दिनदेखि विशेषगरी काठमाडौंको क्षेत्र नम्बर ५ मा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्न थालेको छ । यो निर्वाचन क्षेत्रमा यसअघिको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हाल प्रवक्ता समेत रहेका डा. प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेल त्यसअघि पनि तीनपल्ट सोही क्षेत्रबाट निर्वाचन लडेका थिए । २०५६ को संसदीय निर्वाचनका बेला यही भूगोल रहेको क्षेत्र नम्बर ३ मा मनमोहन अधिकारी उम्मेदवार थिए ।
चुनाव प्रचारकै क्रममा अधिकारीको निधन भएपछि पोखरेलले सो क्षेत्रबाट चुनाव जितेका थिए । त्यसपछि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा भने कांग्रेसका नरहरि आचार्यले उनलाई पराजित गरेका थिए ।
यसरी पोखरेल चार वटा निर्वाचन लडेको क्षेत्रमा यस पटक भने उम्मेदवारको बाढी नै देखिएको छ । यो क्षेत्रमा नेकपा एमालेबाट यसवर्ष पनि पोखरेलले नै टिकट पाउने पक्कापक्की जस्तै छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा पोखरेललाई टक्कर दिन सत्ता गठबन्धनबाट साझा उम्मेदवारको खोजीसमेत सुरु भएको छ । चुनावको मिति नतोकिँदै नेकपा एकीकृत समाजवादीका विद्यार्थी नेता सुदेश पराजुलीले यो निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिने तयारी सुरु गरेका छन् ।
गठबन्धन हुँदा काठमाडौंमा कम्तिमा २ वटा निर्वाचन क्षेत्रमा आफूहरुको दाबी रहने र काठमाडौं ५ मा सत्ता गठबन्धनको तर्फबाट आफूले टिकट पाउनुपर्ने पराजुलीले भन्दै आएका छन् ।
यस्तै पराजुलीको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीले पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । ३३ सदस्यीय कमिटीका अध्यक्ष र सदस्यहरुलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कमिटीका सदस्यमा उत्तर खड्का, नरेश न्यौपाने, प्रकाश शाही, लक्ष्मी क्षेत्री, निश्चिल गुप्ता, मनोज चन्द, हर्क बम, एन्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, सुमनराज पौडे, किरण, पौडेल, निक्शन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, प्रकाश श्रेष्ठ, मुेकश कुँवर, गौरव थापा, सुधिव घिमिरे, शोभा बम, तर्कबहादुर शाही, प्रदिप खनाल, सुरु रिजाल, मनोज शाही लगायत छन् । ३३ जनाको कमिटी रहेकामा अन्य पदाधिकारी र सदस्य पछि मनोनयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।