Latest News

जिल्ला समन्वय समितिमा कांग्रेसको प्यानलै निर्विरोध निर्वाचित

Nepalese Times June 9, 2022 (2 Year ago)    703 Views

काठमाडौं । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन्। जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।

यस्तै काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ जना निर्वाचित वडाध्यक्ष यसअघि नै कार्यपालिकामा आइसकेका छन् ।

एमालेबाट उपमेयरसहित १३ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन् । एकीकृत समाजवादीका एक निर्वाचित वडाध्यक्षसहित दुई र माओवादीका एक जना पनि कार्यपालिकामा आएका छन् ।

मंगलबार भएको निर्वाचनमा महिला सदस्य पदमा कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी, नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादी केन्द्रकी अनिता कार्की ढोली निर्वाचित भएका छन् ।

माओवादीले एक जना पनि वडा सदस्य जितेको थिएन । तर दलित र अल्पसंख्यक कोटामा बाहिरबाट पनि कार्यपालिका सदस्य निर्वाचित गर्न सकिने व्यवस्था अनुरुप सत्ता गठबन्धनले माओवादीकी ढोलीलाई कार्यापलिका सदस्यको उम्मेदवार बनाएको थियो ।

गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस