Latest News

कांग्रेसका नैनसिंह महरले काठमाडौंबाट चुनाव लड्ने, देउवासम्म पुग्यो यस्तो प्रस्ताव

Nepalese Times June 8, 2022 (2 Year ago)    735 Views

काठमाडौं । लामो समय नेपाल विद्यार्थी संघको नेतृत्व गरेका नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएका छन् ।

आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने महरको तयारी रहेको उनी निकट नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासमक्ष समेत महरलाई उम्मेदवार बनाउन प्रस्ताव पुगिसकेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ का एक नेताले बताए ।

यसअघि उम्मेदवार बनेर पराजित भएका नेता डा. प्रकाशशरण महत नुवाकोटबाट चुनाव लड्ने निश्चित भएसँगै यो क्षेत्रमा महरले उम्मेदवार बन्ने ईच्छा व्यक्त गरेका हुन् ।

नेताहरु प्रकाशमान सिंह, गगनकुमार थापा र प्रकाशशरण महतकोसमेत नैनसिंह महरप्रति सद्भाव देखिएकोले यो पटक उनैले टिकट पाउने निश्चित देखिएको नेपाली कांग्रेसका अर्का एक नेताले बताए ।

यस्तै काठमाडौं ५ मा कांग्रेस नेता प्रदीप पौडेलले पनि उम्ेमदवार बन्ने चाहना राखेका छन् । पौडेल पनि पछिल्लो समय देउवा समूहमै रहेकाले यो क्षेत्रमा देउवा निकट नेताले नै टिकट पाउँने देखिएको छ ।

यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ जितेको थियो । यो क्षेत्रमा पर्ने टोखा र बूढानीलकण्ठ नगरपालिका यो पटकका स्थानीय तह निर्वाचनमा एमालेले जितेको छ ।

यस्तै यो निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी उनले यो पटकको संसदीय चुनावमा काठमाडौं ५ बाट चुनाव लड्ने तयारी गरेकी हुन् ।

‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’ काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस