Latest News

प्रधानमन्त्री देउवा भेट्न लोसपाका नेताहरु बालुवाटार पुगे, महन्थ ठाकुरसहित को–को छन् ?

Nepalese Times June 7, 2022 (2 Year ago)    931 Views

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

लोसपाले आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् । त्यसका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् ।

नेता–कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले बताए ।

यस्तै उनीहरुबीच सरकारमा सहभागी हुनेबारेसमेत छलफल हुने भएको छ । लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएसँगै ठाकुरको माग पुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका बालुवाटार स्रोतले जनाएको छ ।

देउवाले आइतबार मात्र सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नागरिकता विधेयक अघि बढाउने र लोसपाको माग सम्बोधन गर्ने विषयमा परामर्श लिइसकेका छन् ।

देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए । लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव देउवाले गरेका छन्।

यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ । उपसभामुख र नयाँ मन्त्रीहरुको नाम आज दिउँसोसम्म फाइनल गर्ने तयारीमा अध्यक्ष ठाकुर लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस