काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने भएपछि नयाँ हलचल मच्चिएको छ ।
एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकले मन्त्री भएकालाई फिर्ता बोलाउने निर्णय गरेको हो । योसँगै अहिले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको भने दौडधुप सुरु भएको छ ।
पार्टीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि अहिले पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्यमन्त्री विरोध खतिवडा पार्टी कार्यालय पुगेका छन् । उनीहरु पार्टीको यो निर्णयबाट असन्तुष्ट छन् । यही कुरा अध्यक्ष माधवकुमार नेपालसामू राख्न उनीहरु पार्टी कार्यालय पुगेको बताईएको छ ।
अहिले भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।
बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए ।
‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छौँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’
हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये जीवनराम श्रेष्ठ, डा.खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, र निरादेवी जैरु अग्रपंक्तिमा रहेका छन् । यस्तै मुकुन्द न्यौपाने वा बेदुराम भुषालको नाम पनि नयाँ मन्त्रमी बन्ने चर्चामा रहेका छन् ।
अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने नेकपा एकीकृत समाजवादीले तयारी गरेको हो ।