काठमाडौं । स्थानीय तहको निर्वाचनलगत्तै अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरु रस्साकस्सीमा छन् । आ–आफ्नो दलभित्र आवश्यक रणनीति बनाउन शीर्षदेखि सबै नेताहरु दौडधुपमा छन् ।
प्रदेश र प्रतिनिधिसभा चुनावको रस्साकस्सी चल्दै गर्दा नेकपा एमालेमा भने अन्तद्र्धन्दको आगो दन्किन थालेको छ । उसो त पालिका चुनाव सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओलीले अरु कसैको कारण नभई आफ्नै पार्टीभित्रको अन्तर्घातका कारण एमाले स्थानीय चुनावमा दोस्रो पार्टीमा खुम्चनुपरेको बताए ।
अध्यक्ष ओलीले यो अभिव्यक्ति सार्वजनिक गरेको केही दिनमा नै घनश्याम भूसाललाई कारबाहीको सिफारिस भएपछि अहिले नेकपा एमालेमा खैलाबैला नै मच्चिएको छ ।
स्थानीय तहको निर्वाचनपछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै अध्यक्ष ओलीको आलोचना गरेका थिए।
यहि विषयलाई आधार बनाएर एमाले केन्द्रीय सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि अहिले नेकपा एमालेमा खैलाबैला सुरु भएको हो ।
अध्यक्ष ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा भने प्रष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेपछि भूसालले पनि आफू गलत नरहेको अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भएपनि भूसालले भने आफूले जवाफ नदिने संकेत गरेका छन् । उनले ११ वर्षअघि केपी शर्मा ओलीको एउटा भिडिओ अभिव्यक्ति सार्वजनिक गर्दै ओलीलाई कडा जवाफ फर्काएका हुन् ।
प्रकाश अजातले सामाजिक संजाल फेसबुकमा सेअर गरेको भिडिओलाई भूसालले पनि सेयर गरेका गरेका हुन् । प्रकाशले भिडिओ सेयर गर्दै स्टाटसमा भनेका छन्, ‘कमरेड केपी ओली उतिखेरका प्रधानमन्त्री झलनाथ खनालको राजिनामा माग्दै। उतिखेर खनाल एमालेका अध्यक्षसमेत थिए। उतिखेर अनुशासन आयोगका अध्यक्ष को थिए कुन्नि ? खनालको आलोचना गरेकै कारण ओलीलाई कसैले कारवाहीको सिफारिस गर्यो कि गरेन कुन्नि ?’
११ वर्षअघि भूसालले आफ्नै पार्टीका नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा ओली राजिनामा माग्दा खनालको आलोचना गरेकै कारण ओलीलाई कारबाही नगरेको भन्दै भूसालले आफू आफ्नो कुरामा प्रष्ट रहेकोले जवाफ दिइरहनु नपर्ने पक्षमा रहेका छन् ।